प्राथमिक स्वास्थ्य सेवाको मुख्य कार्य भनेको बिरामीलाई निरन्तर रुपमा सकारात्मक हौसला सहित हेरचाह प्रदान गर्नु हो। यसले बिरामीलाई सम्बन्धित सरकारी निकाय र अन्य संस्थाहरूद्वारा पहल गरिएका विभिन्न सामाजिक कल्याण र जनस्वास्थ्य सेवाहरू उपलब्ध गराउन मद्दत गर्दछ। प्राथमिक स्वास्थ्य सेवा केन्द्रको अर्को प्रमुख भूमिका भनेको समाजका पिछडिएका वर्गलाई गुणस्तरीय स्वास्थ्य र सामाजिक सेवाा प्रदान गर्नु हो।जुन कुराको सम्भावना सुशासन सहितको राजनिति बाट मात्र सम्भव हुन्छ। कोहि पनि उचित उपचार बाट बन्चित नहोउन् भन्नेमा म सदैव सतर्क रहने छु।

अव्यवस्थित सहरीकरण, चर्को ध्वनि, विभिन्न किसिमका रसायनको प्रयोग आदि जस्ता कारणले गर्दा प्रदूषणको मात्रा दिनानुदिन बढ्दै गइरहेको छ । जलवायु प्रदूषण, भूमि प्रदूषणका अलावा ध्वनि प्रदूषण तथा दृश्य प्रदूषण समेत बढिरहेको बर्तमान परिप्रेक्षमा यस तर्फ जो कोही सचेत नागरिकको ध्यान जानु जरुरी छ भने वातावरण प्रदूषण गर्ने , वतावरण विनाश गर्ने, जो कोही र जे केहि ( चाहे त्यो सुन र हिराको खानी नै किन नहोस् )लाई बन्द गर्ने आँट सरकारले गर्नुपर्छ । जसका निम्ति सम्बन्धित निकाय सम्म जनताको आवाज बनेर हिँड्ने छु।

सचेत उपभोग र जिम्मेवार उत्पादन मानव स्वास्थ्यमा प्रत्यक्ष रुपमा जोडिएको पाटो हो।यसले वातावरणीय ह्रास, संसाधनको दक्षतामा वृद्धि र सरल र मितव्ययिता पुर्ण जीवन शैली तर्फ अभिप्रेरित गर्छ । जसले गरिबी निवारण र न्यून कार्बन र हरित अर्थतन्त्रमा पनि ठूलो योगदान पुर्‍याउन सक्छ। जसबारे राजनितिक दलका नेताहरुले जानकार रहनु आवश्यक छ। किनभने एउटा सचेत नेतृत्वले मात्र समाज र राष्ट्रलाई सचेत र जिम्मेवारी पुर्ण ढंगले अगाडि बढाउन सक्छ।म यसका लागि आवश्यक पहल गर्ने छु।

शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई मात्रै नभएर हामीले गर्ने प्रत्येक सकारात्मक व्यवहार र सचेत कदमहरु नै शिक्षाको परिभाषा हो। त्यसैले भन्ने गरिन्छ शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म र संस्कारले छेक्दैन। मानिसले जन्म देखि मृत्यु पर्यन्त केहि न केहि नयाँ कुरा सिकिरहेको हुन्छ, ति सम्पूर्ण सिकाइ नै शिक्षा हो। त्यसैले सिकाइ कहिल्यै पनि सकिँदैन र शिक्षा ग्रहण गर्ने काम पनि सकिँदैन।शिक्षाकै कारण नै यो संसार छ । यदि शिक्षा नभएको भए यो संसार हुँदैनथ्यो । सायद शिक्षा नभएको भए यो संसार अन्धकार भित्र गुज्रिरहेको होला । त्यसैले शिक्षाको सम्वन्धमा म बाट बिषेस पहल हुनेछ । मेरो कार्यकालमा कोही कसैले शिक्षा बाट बन्चित हुनु पर्ने छैन।

राजनितिक पारदर्शिता आर्थिक, सामाजिक र कानुनी मुद्दाहरू सँग पनि सम्बन्धित छ। अर्कोतर्फ, राजनीतिक पारदर्शिताले सार्वजनिक राजनीतिक क्षेत्रलाई मात्र समेट्दैन।यसभित्र निजी संघसंस्था पनि पर्छन्। जसको सहि परिचालन गर्न सुशासन सहितको राजनितिको जरुरी हुन्छ। यस अर्थमा पनि राजनितिले फोहोरी खेल बनिरहन मिल्दैन।

राजनितीमा हुने विभिन्न किसिमका निर्णयहरु बारे जनताहरू जानकार हुनु अत्यन्तै जरुरी हुन्छ।नागरिकसँग विश्वास र सुरक्षा लगायत सम्पूर्ण गतिविधिहरू, वार्तालापहरू, बजेट र सार्वजनिक चासोका विषयमा छलफल गर्ने र सहि सुचना सम्प्रेषण गरि नागरिकको हक हितको सुनिश्चित गर्ने काम गर्नमा म बाट भरमग्दुर प्रयास हुनेछ।

सहरहरूलाई दिगो रुपमा विकसित बनाउनु भनेको, काम र व्यापारका अवसरहरू बढाउनु हो। स्वरोजगारमा जोड दिनु पनि हो।सुरक्षित आवास, लचिलो समाज र बलियो अर्थतन्त्र निर्माण गर्नु हो। जसअन्तर्गत सार्वजनिक यातायातमा लगानी गर्ने, हरियाली युक्त सार्वजनिक स्थानहरू सिर्जना गर्नमा जोड दिने र सहरी योजना र व्यवस्थापनलाई सहभागितामूलक र समावेशी रूपमा सुधार गर्ने काममा रहेको जनचाहना पुरा गर्नका निम्ति जनताका कदममा कदम मिलाएर हिँड्न म सदैव तत्पर छु।

गरिबी अभावको अवस्था हो । यसका स्वरूप र आयाम धेरै भए पनि जीवन निर्वाहका लागि आधारभूत आवश्यकता प्राप्त गर्नबाट वञ्चित हुनु नै गरिबी हो । गरिबीको अवस्थाले अरू धेरै अवसर र स्वतन्त्रताको कठालो समाउँछ।गरिबीले स्तरीय शिक्षा लिन सक्दैन, कम शिक्षित भएको कारण गरिबहरु सदैव गरीब रहन्छन्, जुन कुरा अत्यन्तै दुखको कुरा हो। त्यसैले समाजको दुइ किसिमको चरित्रमा समानता ल्याउन मैले गर्न सक्ने जति सम्पुर्ण प्रयास म बाट हुनेछ। तकि भबिस्यमा कोहि पनि गरिबीको रेखामुनि नरहुन्। सचेत र शिक्षित समाजको निर्माणका निम्ति गरिबी निवारण अत्यन्त आवश्यक हुन्छ। जसका निम्ति म अहोरात्र खटिने छु‌।

सफा पानी पिउन पाउने अधिकार संविधानमा नै सुनिश्चित गरिएको छ र पनि आज पनि सफा पिउने पानी बाट बन्चित थुप्रै नेपाली छन्। जलस्रोतको धनी देशमा पिउने पानीको अभाव भन्ने सुन्दा झट्ट राम्रो सुनिदैन,तर यो यथार्थ हो। सफा पिउने पानीको उपलब्धता र सरसफाई सम्बन्धि सचेतना कार्यक्रमका लागि म मेरो कार्यकाल भरि जनता सँग सँगै रहेर लागि पर्नेछु। समान व्यवहार जसबाट दुषित पानी बाट हुने विभिन्न किसिमका सरुवा रोगहरूलाई हटाउन मद्दत हुन्छ।

सम्पुर्ण जनता प्रति बफादार रहि सम्पुर्ण प्रति समान व्यवहार गर्ने प्रतिबद्धता गर्दछु।कुनै पनि किसिमको विभेदलाई नसहने समाजको संरचना निर्माणमा मेरो कार्यकालमा म मेरो तर्फबाट चुक्ने छैन। सहिष्णुता र सद्भाव सहितको समाज निर्माणमा म सदैव छु र रहनेछु। हामी सामाजिक सन्जालमा छौँ, हामीलाई सामाजिक सन्जाल मार्फत पछ्याउनु सक्नु हुनेछ।

अब, हामी कुनै प्रलोभनमा नफसौँ। खसी-बोका जस्तै पैसामा नबिकौँ। नेताहरूले आयोजना गरेका कुनै पनि भोजभतेरमा पनि सरिक नहोऔँ। जाँड-रक्सी र पेट्रोल बाँड्ने नेताहरू देखि पनि टाढा होऔँ। र, दक्ष, इमानदार, सक्षम, योग्य र प्रस्ट राजनीतिक दर्शन (भिजन) भएको/बोकेको उम्मेदवारलाई जिताऔँ।  स्वदेश तथा विदेशमा रहनु भएका शुभचिन्तकहरुवाट सहयोगको अपेक्षा गर्दछु  ।