संघीय संसद (प्रतिनिधिसभा सदस्य) को निर्वाचनमा मलाई किन मतदान गर्ने ?
आदरणीय दिदी–बहिनी तथा दाजु–भाइहरु,
जय नेपाल !
आउँदो २०७९ साल मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा (संघीय संसदको) निर्वाचनमा म तनहँु जिल्ला, निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको रुपमा आफ्नो उमेद्वारी दर्ता गराएको छु । प्रतिनिधिसभा निर्वाचनमा मेरो उमेद्वारी किन ? भन्ने उत्सुकता आम मतदाता दिदी–बहिनी तथा दाजु भाइहरुलाई हुन सक्दछ । यस विषयमा मैले तपाईहरु समक्ष आफ्ना कुराहरु स्पष्ट पार्न जरूरी भएको महसुस गरेर नै सार्वजनिक रूपमा यो अपील गरेको छु ।
जननेता बी.पी.कोइराला अहिले हाम्रो माझ हुनुहुन्न । उहाँ हामी माझ नभए तापनि उहाँका विचारहरु नेपाली राजनीतिमा अहिले पनि सान्दर्भिक छन् । बी.पी. कोइरालाले आफ्नो जीवनको अन्ततिर भन्नु भएको थियो (‘‘म मरे पछि नेपाली काँग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरुलाई बङ्ग्याएर इतिहासको गलत व्याख्या गरिने छ । नेपाली काँग्रेसमा मैले लिएको अडान र मेरा दृष्टिकोणहरूलाई गौण बनाइने छ । मैले नेपाली काँग्रेसमा सदैव सैद्धान्तिक र विषयगत अडान लिएको छु । राष्ट्रियताको विषयमा, प्रजातान्त्रिक संस्थाहरुको विषयमा, आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा मेरा अडानहरूमा निरन्तरता छन् । हिन्दुस्थानको बारेमा, राजाको बारेमा र संसारसँगको सम्पर्कका बारेमा मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र त्यसका आधारहरू मैले सँधै उल्लेख गर्ने गरेको छु । २००७ सालको क्रान्ति हामीले हिन्दुस्थानबाट सञ्चालन ग¥यौं । हामीलाई हिन्दुस्थानले सञ्चालन गर्न खोजेको कुराको मैले सँधैभरी र सबभन्दा बढी विरोध गरेको छु । मैले राजालाई हमेसा महत्व दिएको छु । मलाई थुनामा राख्दा पनि मैले त्यही विचार राखेको छु । उनको निरङ्कुस शैलीको मैले सँधै र सबभन्दा बढी विरोध गरेको छु । मैले हिन्दुस्थानमा बसेर सङ्गठन गर्दा पनि आफ्नो राष्ट्रियताको छवि कायम राख्ने प्रयास गरेँ । राजासँग मेलमिलापको कुरा गर्दा पनि प्रजातन्त्रको आग्रहमा मैले कहिल्यै समर्पण गरिन । मेरा यी अडानहरुका बारेमा व्यापक भ्रम सिर्जना हुने सम्भावना मैले देखेको छु । नेपाली काँग्रेसको इतिहास ती सबै आदर्शहरु र लक्ष्यहरूकासाथ भएको सङ्घर्षको इतिहास हो । मलाई लाग्दछ, यस मुलुकको उज्ज्वल भविश्यका लागि नेपाली काँग्रेसमा ती कुराहरुको निरन्तरता रहनु पर्छ । जुन दिन नेपाली काँग्रेसले राष्ट्रियताको आफ्नो अडान छोड्ने छ, यो निरर्थक भएर जाने छ । जुन दिन यसले प्रजातन्त्रको आदर्शहरू छाडेर केवल सत्ताको राजनीति गर्ने छ, यो निरर्थक भएर जानेछ ।’’ (जेल जर्नल, विश्वेश्वरप्रसाद कोइराला, पृष्ट छ, ज) विश्वेश्वरप्रसाद कोइरालाले भन्नु भए जस्तै नेपाली काँग्रेसमा अहिले यही स्थितिको सृजना भएकोे छ । सत्ताको लागि काँग्रेसले अहिले पार्टी भित्र विना छलफल, विना निर्णय कहिले उग्र वामपन्थीहरुसँग त कहिले उग्र दक्षिणपन्थीहरुसँग साँठगाँठ गर्दै आएको छ ।
त्यति मात्र नभै निर्वाचनको समयमा पार्टीका कार्यकर्ताहरुको मानमर्दन गरी टिकट वितरण गर्दा आर्थिक मोलमोलाई गरी सिद्धान्त र आदर्शलाई पैसामा बिक्री गरी परिवारवाद, नातावाद र गुटगत आधारमा टिकट वितरण गर्दा नेपाली काँग्रेसका इमान्दार एवम् योगदान गरेका कार्यकर्ताहरुलाई वेवास्ता गरिएको छ । यस्तो प्रवृत्तिले समग्र काँगेसजनमा निराशा उत्पन्न भएको छ । यसले काँग्रेस नेपाली राजनीतिको पूर्णताबाट क्रमशः खस्कँदै अपूर्णतातर्फ उन्मूख भइरहेको छ । नेपाली काँग्रेसको यो दुःखद् स्थितिको चित्रण भविष्यका पिढिले अवश्य नै गर्ने छन् । समय सन्दर्भ, सामाजिक सँस्कार र मान्यताभित्र आज नेपालको सबैभन्दा जेठो, ठूलो, बृहत, प्रजातान्त्रिक एवम् सिद्धान्तनिष्ठ पार्टी नेपाली काँग्रेस आजको यस्तो दयनीय स्थितिमा आइपुग्नुका कारणहरूको पहिचान आजको टड्कारो आवश्यकता हो । यसलाई आत्मसात गरी अगाडि नबढ्ने हो भने आफ्नो गौरवशाली इतिहास बचाउन काँग्रेस समर्थ हुने छैन । वर्तमानमा स्वाभिमानी भएर बाँच्न सक्ने शाहस पनि काँग्रेसले बटुल्न सकेन । वर्तमान काँग्रेसको नेतृत्व यति अधिनायकवादी भएको छ कि, यो समग्र परिस्थितिको विरोध गर्ने शाहस पनि कुनै नेता कार्यकर्तामा कहीँ कतै देखिदैन । काँग्रेसको वर्तमान केन्द्रीय नेतृत्व कति नालायक छ यो निर्वाचन पछि थप पुष्टि हुने नै छ । त्यसैले काँग्रेसको यो जटिल र दयनीय अवस्थालाई ख्याल गर्दै र मैले यो अवस्थाको सामना गर्नु पर्दछ भनेर यो कठोर र कठिन निर्णय गर्दै देशको भविष्य, प्रजातान्त्रिक आन्दोलनको मर्मलाई हृदयङ्गम गर्दै निर्वाचनमा प्रत्यासी हुने निर्णयमा पुगेको कुरा म सम्पूर्ण आम प्रजातन्त्रवादी दिदी बहिनी तथा दाजु भाइहरुलाई जानकारी गराउन चाहन्छु ।
आदरणीय तनहु“वासी दिदी बहिनी तथा दाजुभाइहरु,
२०१८ सालमा मेरो पिता पदमराज जोशी राजकाज मुद्धामा गिरफ्तार भए पछि म नेपाली काँग्रेसको राजनीतिमा सम्लग्न भई सक्रिय हुन पुगेँ । २०२१ सालदेखि निरन्तररूपमा अत्यन्त कठिन अवस्थामा पनि नेपालमा भएका सबै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेँ । २०२५ सालदेखि तनहुँ जिल्लामा नेपाली काँग्रेसको नेतृत्व गर्दै तनहुँ जिल्लामा नेपाली काँग्रेस पार्टीको संगठन निर्माणदेखि सञ्चालन गर्दै आएको कुरा मैले पुनः दोहो¥याइरहन पर्दैन । आजसम्म मेरो तागतले भ्याउदासम्म तनहुँवासीको हरेक सुख दुःखमा साथ दिँदै आएको छु । आगामी दिनहरुमा पनि दिदी–बहिनी तथा दाजु–भाइहरुको दुःख सुखमा सँधै साथ दिने प्रतिवद्धता पनि दोहो¥याउन चाहन्छु । राष्ट्रिय राजनीतिलाई अलग राखेर जिल्लाको मात्र कुरा गर्दा म दर्जनांै पटक जेल परेको र जस्तोसुकै अवस्थामा पनि तनहुँ जिल्लामा पार्टीका कार्यकर्ताहरुलाई संरक्षण गरेको कुरा सर्वविदितै छ । पञ्चायतका ती कठिन दिनहरुमा तनहुँ जिल्लामा पार्टीका कार्यकर्ता साथीहरुलाई संरक्षण गर्ने म बाहेक अरू कोही थिएन भन्नु अत्युक्ति हुने छैन ।
श्रद्धेय मतदाता दिदी–बहिनी तथा दाजु–भाइहरु,
२०४६ सालको जनआन्दोलनको परिणाम देशमा प्रजातन्त्र पुनर्वहाली भएपछि जिल्लामा दुरासय राखेर मप्रति वक्रदुष्टि राख्नेहरुको आक्रमण मैले पटक पटक बेहोर्नु परेको कुरा मैले भनिरहनु पर्दैन । २०४६ साल अघि हरेक सङ्कटको सामना मैले गर्नु पर्दा कहीँ कतै उपस्थित नहुनेहरु, २०४६ सालपछि एकाएक सक्रिय भई पहिलो आम निर्वाचनमा जिल्ला कार्यसमितिले मलाई तनहुँको क्षेत्र नं. २ मा सिफारिस गरे पनि मलाई ३ नं. क्षेत्रमा पठाउने षडयन्त्र गरियो । मेरो मन्जुरी वेगर षडयन्त्रपूर्वक मलाई हराउन गरिएको निर्णय वदर भई म तनहँु जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित भए । २०५१ को निर्वाचनमा मलाई जवरजस्ती तनहुँ क्षेत्र नं. १ मा पठाइयो । त्यहाँबाट पनि मैले निर्वाचन जितेँ । २०६४ को निर्वाचनमा मेरो विरुद्ध काँग्रेसकै नेताहरुको सम्लग्नतामा बागी उमेद्वारमात्र उठाइएन, म माथि पटक पटक साङ्घातिक आक्रमण समेत गराइयो । यसमा कसको भूमिका छ भन्ने तथ्य कसैबाट छिपेको छैन । पार्टीमा हालिमोली गरेर बस्नेले मप्रति दुरासय राखेर २०७० को निर्वाचन पछि अहिलेसम्म शक्तिको दुरुपयोग गरेर मलाई समानुपातिकमासम्म उमेद्वार बन्न बञ्चित गरियो । प्रत्यक्षको त कुरै छोडौ । यति गर्दा पनि सन्तुष्ट नभएर यस पटकको निर्वाचनमा पुनः मलाई राजनीतिमा उपस्थिति नदेखाउने षड्यन्त्र गरी मलाई नेपाली काँग्रेसको साधारण सदस्य समेत नदिए पछि मैले तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ को नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको परामर्शमा स्वतन्त्र उमेद्वारको हैसियतमा आफ्नो उमेद्वारी दिएको छु । तनहुँ जिल्लाको नेपाली काँग्रेसको संगठनलाई धारासायी बनाई यो अवस्थामा पु¥याउन कसकस्को के भूमिका छ ? सबै तनहुँवासी आदरणीय दिदी बहिनी तथा दाजु भाइहरुलाई घाम जत्तिकै छर्लङ्ग छ ।
मैले २०२५ सालदेखि तनहुँमा नेपाली काँग्रेसको सङ्गठन निर्माण गर्न शुरू गरेको हुँ । मेरो साथमा अरू थुप्रै साथीहरु सङ्गठन निर्माणमा लागेको कुरालाई म स्मरण नगरी रहन सक्दिन । २०३५ सालमा गोरखपुरमा भएको पार्टीको बैठकमा गिरिजाप्रसाद कोइरालाको परामर्शमा जिल्ला कार्यसमितिको सदस्यमा प्रवेश गर्नु भएका रामचन्द्र पौडेल जिल्लामा हावी हुन थाले पछि तनहुँ जिल्लाको काँग्रेसको सङ्गठन कमजोर हुँदै गएको हो भन्ने कुरा आम कार्यकर्ताले अनुभूति गरेका छन् । पार्टीको केन्द्रीय स्तरको धाक रवाफ देखाई जिल्लामा मनोमानी गर्ने प्रवृतिको उदाहरण गत संघीय र प्रदेश सभाको निर्वाचन र स्थानीय निकायको निर्वाचन पनि हो । यी निर्वाचनहरूमा कसलाई कसरी टिकट दिइयो ?, निर्वाचनमा के कस्ता हरकतको सामना उमेद्वारहरूले गर्नु प¥यो ? उनका विरोधी उमेद्वारमाथि किन ज्यान लिनेसम्मको साङ्घातिक आक्रमण गरियो ? सबैको अगाडि छर्लङ्ग रहेको छ । पार्टी भित्र रहेको यस्तो अराजकता र स्वेच्छाचारिताको अन्त हुनु पर्दछ भन्ने आम कार्यकर्ताहरूको दृढ भावनालाई यो निर्वाचनमा मैले सम्वोधन गर्न सकिन भने कार्यकर्ताहरूको भावनामा कुठाराधात हुने भएकोले अन्यायका विरुद्ध न्यायका लागि यो निर्वाचनमा मैले आफ्नो उमेद्वारी दिएको हूँ ।
मैले मिति २०७९ भाद्र १७, १८ र १९ गते मानेचौका, डुम्रे र दमौलीमा भएको नेपाली काँग्रेस जोशी समूह (स्वतन्त्र अभियान) तनहुँ जिल्ला, क्षेत्र नं. १ को कार्यकर्ताहरुको परामर्श र नेपाली कांग्रेस जोशी समूह (स्वतन्त्र अभियान) तनहुँको मिति २०७९ साल आश्विन ३ गतेको निर्णय अनुसार तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा आफ्नो उमेदवारी दर्ता गराएको छु । काँग्रेसको कार्यकर्ता केवल पार्टीको रसिदले मात्र होइन, प्रजातान्त्रिक सँस्कार, सँस्कृति र परम्पराले हुने हुँदा, मैले आँफूलाई नेपाली काँग्रेसको सच्चा अनुयायी ठानेको छु ।
आवधिक निर्वाचन प्रजातन्त्रको प्राण हो । निर्वाचनमा आम जनताले प्रकट गर्ने मतबाट राजनीतिक दल र निर्वाचित व्यक्तिले वैधानिकता प्राप्त गर्दछ । यो एक नियमित वैधानिक राजनीतिक प्रक्रिया पनि हो । राजनीतिले जनभावनालाई सम्वोधन गर्न सक्नु पर्दछ । विगतका वर्षहरूमा तनहुँ जिल्लामा मैले जति योगदान गर्न सके त्यसको कारणनै मैले साथीहरूबाट अभुतपूर्व माया पाएको छु । जनताको मप्रतिको त्यही स्नेह र मायाले नै मलाई नियमित रूपमा जनताका बीचमा जाने र निर्वाचनमा खडा हुन अपरिमित प्रेरणा मिलेको छ । निरन्तरको मप्रतिको माया र सद्भावका लागि म तनहुँ जिल्लाका आदरणीय दिदी बहिनी तथा दाजु भाइहरुमा हार्दिक आभार प्रकट गर्दछु ।
मैले विगतमा यो जिल्लाबाट निर्वाचनमा विजयी भएर सांसद एवम् मन्त्री हुँदा जे जति जनताको समस्या समाधान गर्न सकेँ, अरु सांसदहरुबाट किन हुन सकेन त्यो नै अहिलेको मापडण्डको धरातलीय यथार्थ हो भन्ने मलाई लागेको छ । २६ वर्षसम्म सांसद हुँदा पनि जिल्लामा केही गर्न नसक्ने, एउटा मात्र क्षेत्रको जनताको पनि चित्त बुझाउन नसक्ने, अनि निर्वाचन पिच्छे निर्वाचन क्षेत्र साट्न पर्ने अवस्था किन सृजना भयो ? यस जिल्लाका जनताले राम्ररी बुझेका छन् । मैले म सांसद हुँदाको अवधिमा तनहुँ जिल्लामा शिक्षाको क्षेत्रमा, विद्युतिकरणको क्षेत्रमा, सडकको विस्तार, खानेपानी, पुल निर्माण, टेलिफोन विस्तारदेखि सञ्चारको विकास, पर्यटन विकास लगायको क्षेत्रमा के कति गरेँ, तपार्इँहरुको आँखा अगाडि छ । वन्दिपुरको पर्यटकीय विस्तार कसरी भयो ? त्यहीका जनताले भन्ने छन् । भानुमा स्थापना भएको सशस्त्र तालिम केन्द्र, दमौलीमा स्थापना भएको प्राथमिक शिक्षक तालिम केन्द्र, भिमादको प्राविधिक तथा व्यवसायीक तालिम केन्द्र, भानु जन्मस्थल विकास आयोजना, देवघाट विकास आयोजना, प्राथमिक र माध्यमिक शिक्षा परियोजनाको माध्यमबाट जिल्लाका विद्यालयहरुको निर्माण र खेलकुदको क्षेत्रमा भएको विकास, मुस्लिमहरुको अनुरोधमा मदरसा विद्यालयको व्यवस्था जिल्लामा भएका केही उल्लेखनीय विकासका थप उदाहरण हुन् । तर आज यतिका वर्षमा पनि किन एउटा विद्यालय स्थायी भएको छैन ?, म शिक्षा मन्त्री हँुदा आदिकवि भानुभक्त क्याम्पसलाई स्थायी गराउन खोज्दा किन दिइएन ?, आज किन तनहुँमा एउटा पनि कलेज स्थायी छैन ? त्यतिबेला भएका सबै आयोजनाहरू यहाँ उल्लेख गर्न उपयुक्त हँुदैन । त्यतिबेला तनहुँमा आउने राष्ट्रिय विकासको रकम अहिले किन आउन सकेन ? राष्ट्रिय नीति निर्माणदेखि राष्ट्रिय राजनीतिमा तनहुँको प्रभाव र पहुँच किन कमजोर भयो ? जनताले अहिलेको नेतृत्वसँग यो प्रश्न किन नसोध्ने ?
अरु कुरा त परै छोडौं, गत वर्षको कोरोना संक्रमणले तनहुँमा हजारौं मानिस सङ्क्रमित भए । तनहुँमा एउटा साधन सम्पन्न अस्पताल नहुँदा कति मानिसहरुको ज्यान गयो ? मणिपाल अस्पताल पोखराले सरकारसँग गरेको सम्झौता अनुसार दमौलीमा किन अस्पताल बनेन ?, देवघाटमा किन बनेन अस्पताल ?, देवघाटलाई धाममा किन विकास भएन ? देवघाटदेखि केलादीघाटसम्मको शालिग्राम मार्ग किन बनेन ? नवलपरासी कोटा जोडने ढोडेनीको पुल आजसम्म किन बनेन ? चितवन देवघाट जोडने पुल आजसम्म किन बनेन ? वन्दिपुरको अस्पतालमा भएको चरम लापरवाहीले अस्पताल किन राम्ररी सञ्चालन भएन ?, यो जिल्लाका मानिसहरुले जिल्लामा साधन सम्पन्न अस्पताल नहुँदा कति दुःख सहन प¥यो, काँग्रेस पटक पटक सरकारमा छ, किन यो जिल्लाको काँग्रेसको नेतृत्व एउटा अस्पतालसम्म बनाउन सक्दैन ?, तनहुँ जिल्लाका जनताले भुकम्प पीडितको लागि सरकारबाट पाउने राहत अहिलेसम्म किन पाउन सकेनन् ? यो आर्थिक वर्षमा पनि काँग्रेस सरकारमा छ । स्वभाविक रुपमा विनियोजन भएको रकम र योजना बाहेक एउटा पनि उल्लेख गर्न हुने योजना परेको छैन, किन ? नेपाली काँग्रेस सँधै राष्ट्रिय राजनीतिको केन्द्र विन्दुमा रहेको छ । तनहुँका जनता यसरी ठगिएको कुराको जवाफ तनहुँ जिल्लाबाट सँधै राष्ट्रियस्तरको नेतृत्वमा रहनेहरूले दिन पर्दछ कि पर्दैन ? यी त केही महत्वपूर्ण कुराहरू भए । मैले उल्लेख गर्नै पर्ने भएकोले उल्लेख गरेको हुँ । जिल्लामा रोजगारी कति सृजना भए ? एकै पटक ४० वटा माध्यमिक विद्यालयको स्थायी स्वीकृति, प्राथमिक र निम्न माध्यमिक विद्यालयमा आवश्यक दरवन्दीको व्यवस्था कसरी भयो ?, यो जिल्ला २०५७ साल पछि किन एउटा शिक्षकको पनि दरवन्दि आएन ? अझै अहिले एकैपटक २०० शिक्षकको दरवन्दी काटिदा पनि कसैले आवाजसम्म किन उठाएनन् ? यसको जवाफ कसले दिने ? अहिले शक्तिमा रहेकाहरुले दिनु पर्दैन ? जिल्लाभित्र शिक्षकमा र जिल्ला बाहिर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र शिक्षा लगायत अन्य विविध सेवामा कति मानिसले रोजगारी प्राप्त गरे ? यी केही उदाहरणहरु हुन्, मैले सम्झाइरहन नपर्ला । आज मैले एक पटक तिनै मेरा सहयोगीहरू जसलाई मैले विगतमा सहयोग गरे उनीहरूसँग सहयोगको अपेक्षा गरेको छु । २६ वर्षसम्म सत्तामा रहँदा पनि दमौलीमा एउटा साधन सम्पन्न अस्पताल बन्न सकेन, एउटा उच्च शिक्षा प्राप्त गर्ने आङ्गिक (सरकारी) कलेज सञ्चालन हुन सकेन, सडकहरु निर्माणको नारा त चुनावको बेला जनता झुक्याउने अस्त्रमात्र बनेको छ । किन महत्वपूर्ण सडक पिच हुुन सकेनन ?, विकासको कुनै पनि क्षेत्रमा यो जिल्लाको किन पहँुच हुन सकेन ?, तनहुँ जिल्लाका युवाहरू आज किन विदेशिनु प¥यो ? युवाहरुलाई रोजगारी दिने प्रयास किन भएन आजसम्म ? यो मेरो प्रश्न हो ? केही गर्न नसक्ने व्यक्तिले जागीर खानको लागि सांसद बन्ने होइन । विश्राम लिनु पर्दछ भन्ने मेरो धारणा हो । यी र यस्तै विगतमा मैले सुरु गरेका विभिन्न क्षेत्रका कामहरुको निरन्तरताका लागि र टड्कारो रुपमा रहेको वेरोजगारीले युवाहरुको विदेश पलाएन हुनु पर्ने अवस्थालाई कम गर्न र अब गर्नु पर्ने जनताका आवश्यक कार्यको लागि मैले आफ्नो उमेद्वारी दिएको हुँ ।
आदरणीय मतदाता दिदी–बहिनी तथा दाजु–भाइहरु,
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक हो । प्राकृतिक एवम् सांस्कृतिक विविधता र छटाले तनहुँ जिल्लाको आफ्नै विशिष्ठ पहिचान छ । धार्मिक, भाषिक, जातीय एवम् विविध साँस्कृतिक विविधता एवम् प्राकृतिक सम्पदाले सम्पन्न यो जिल्ला आदिवासी, जनजाति र अल्पसंख्यक तथा पिछडिएका जनताहरु बसोबास गर्ने जिल्ला हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा यस जिल्लाका जनजाति र दलित नेताहरुले पु¥याउनु भएको योगदानलाई कहिल्यै भुल्न सकिदैन । अमर शहीद लालध्वज गुरुङ्ग, धर्मध्वज गुरुङ्ग, बुद्धसिंह राना मगर, उत्तरकुमार श्रेष्ठ, चन्द्रबहादुर सार्की, खङ्गबहादुर गोदार, सन्तबहादुर राना मगर, धर्मराज श्रेष्ठ आदि नेपाली आमाका सपुतहरुले पु¥याउनु भएको योगदान इतिहासमा सधै उज्ज्वल नक्षेत्रकारुपमा चम्किरहने छ । यस अवसरमा म पुनः एक पटक अमर शहीदहरूको अतुल्य त्याग र योगदानलाई श्रद्धापूर्वक स्मरण गर्दै सम्मान प्रकट गर्दछु ।
केही दिन अघिमात्र नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले लोकतान्त्रिक आदिवासी जनजाति संघको ४९ जनाको कार्यसमिति गठन गर्दा तनहुँबाट एक जना सदस्यसम्म समावेस नहुनुले तनहुँबाट काँग्रेस केन्द्रीय कार्यसमितिमा बस्नेहरुको हैसियत र उनीहरुको जनजातिप्रतिको दृष्टिकोण छर्लङ्ग भएको छ । अमर शहीदहरू होमराज लोहनी, सरस्वतीकृष्ण श्रेष्ठ, कल्याण खनाल, ध्रुवदेव आचार्य, विष्णुप्रसाद जमरकट्टेल, रामजी भट्टराई र अरु यस्तै नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिई शहादत प्राप्त गर्नु भएका अमर शहीदहरु तथा शहीद एवम् घाइते परिवारको कहाँ मूल्याङ्कन भयो ? उनीहरुको परिवारको के अवस्था रह्यो ? विगतको यो २८ वर्षमा यो प्रश्न पनि टड्कारो रुपमा उठेको छ । मेरो सकृयतामा वन्दिपुरमा शहीदपार्क, पुलिमराङमा शहीदपार्क, वरभन्ज्याङमा शहीदपार्क बनाउने कार्य सुरु भयो । जनजाति भनेको हामीहरुका फुलबारी हुन्, गहना हुन् र हाम्रो सभ्यता र संस्कृितको पहिचान पनि हो । के उहाँहरु जनजातिकै अगुवाहरु भएको कारणले तनहुँको काँग्रेस नेतृत्वले ती ठाउँहरुमा पाइला पनि नटेक्नु भएको हो ? जनजातिहरु र त्यहाँका मानिसहरुका अगाडि यो अहम् प्रश्न खडा भएको छ । मैले तिनै अधुरा कामहरु पुरा गर्न र तिनै जनजाति, दलित, महिला, अल्प संख्यक, मुस्लिम र पिछडिएका आदिवासी आदरणीय दिदी–बहिनी तथा दाजु–भाइहरूलाई सम्मान व्यक्त गर्न, उनीहरूको सपना साकार पार्न र उनीहरूको दुःख सुखमा साथ दिन मैले आफ्नो उमेद्वारी दिएको हुँ ।
आदरणीय दिदी बहिनी तथा दाजुभाइहरु,
एउटा प्रश्नको उत्तर दिन मैले यहाँ उपयुक्त सम्झेको छु । मैले २०७९ साल भाद्र १७ गते दमौलीमा, भाद्र १८ गते मानेचौकामा र भाद्र १९ गते डुम्रेमा भएको नेपाली काँग्रेस, तनहुँ जिल्ला क्षेत्र नं. १ को कार्यकर्ताहरुको सल्लाह र नेपाली कांग्रेस जोशी समूह (स्वतन्त्र अभियान) तनहुँको मिति २०७९ साल आश्विन ३ गतेको निर्णय अनुसार तनहुँ जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको रूपमा आफ्नो उमेद्वारी दर्ता गराएको छु । तनहुँका कार्यकर्ता र जनताको समर्थन मलाई प्राप्त छ । २०७० सालको आम निर्वाचनमा र २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा तनहुँ जिल्लाको पार्टी नेतृत्वले एकलौटी ढङ्गले टिकट लिई तनहुँका जनताको भावना विपरित पटक पटक निर्वाचनमा उमेद्वारी दिएको र बारम्बार म माथि अन्याय गरेको हुनाले अन्यायको विरुद्ध मैले निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको हँु । मलाई मात्र होइन आज तनहुँका धेरै काँग्रेस कार्यकर्ताहरुले मेरो विरुद्ध सँधै लागिरहने व्यक्ति र प्रवृत्तिबाट मैले जत्तिनै धोका पाइसकेका छन् । यो संघीय निर्वाचनमा ती सबै साथीहरूलाई एकबद्ध भएर आफ्नै घर फर्कन र मलाई यो निर्वाचनमा सहयोग गर्न आग्रह पनि गर्दछु र त्यो खराव प्रवृतिको यो निर्वाचनमा पराजय भयो भने तनहुँका काँग्रेस कार्यकर्ताहरुले सदाको लागि मुक्ति पाउने छन् भन्ने मैले विश्वास लिएको छु । मेरो लडाईँ अन्यायको विरुद्ध न्यायको लागि हो । मेरो लडाईँ व्यक्तिको विरुद्ध होइन, प्रवृत्तिका विरूद्ध हो । यो अभियानमा मलाई साथ दिनेहरुलाई भन्न चाहान्छु, मलाई विश्वास गर्नुहोस् म तपाईँहरूलाई धोका दिन्न । मलाई साथ दिँदा पर्ने अप्ठयाराहरुको म सामना गर्ने छु । मेरो कसैसँग कुनै आग्रह र पूर्वाग्रह छैन । भोलीका दिनहरुमा पनि म तपाईँहरुकै साथमा रहने छु ।
म पनि एक सामान्य मानिस हूँ । मानवीय स्वभावका कारण मैले पनि विगतमा गल्ति गरेको हुन सक्दछ । यदि विगतमा मेरा कारणले वा मसँग नजिक भएको वहानामा जो कसैले कसैलाई चोट पु¥याए÷पुगेको भए त्यसको लागि व्यक्तिगत रुपमा म क्षमा प्रार्थी छु । म यस अवसरमा तनहुँ जिल्लामा कृयाशील अन्य सबै दलका दाजु–भाइ, दिदी–बहिनीहरुलाई पनि विनम्रताका साथ अनुरोध गर्न चाहन्छु कि अहिले म प्रवृतिको विरुद्ध लडिरहेको छु । मैले विगतमा निर्वाचनका समयमा बाहेक विकासका कुरामा होस् वा अन्य व्यक्तिगत काममा होस, मैले कहिल्यै कुन दलको मानिस हो भनेर सोचिन, सोधिन र कहिल्यै भेदभाव गरिन । अबका दिनहरुमा पनि म सबै तनहुँवासी आदरणीय दिदी–बहिनी तथा दाजु–भाइहरुकोे साझा उमेद्वार भएर उभिएको छु । मलाई यो निर्वाचनमा विजय गराउनुहोस्, म तपाईँहरु सबैलाई समान व्यवहार गर्ने छु भन्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
अन्त्यमा, मैले माथि नै भनिसकेको छु, निर्वाचन कानूनी प्रक्रिया मात्र नभएर राजनीतिक कुरा पनि हो । जनताको चाहना विपरित भोट हाल भन्ने अधिकार कसैलाई छैन र जनताले त्यस्तो कुरा मान्दैन पनि । स्थानीय निकायको निर्वाचनमा र यो निर्वाचनमा पनि देशका विभिन्न जिल्लामा भिन्न भिन्न पार्टीका चुनाव चिन्हमा भोट हाल्न निर्देशन दिने वर्तमान नेतृत्वलाई तनहुँमा मेरो विरुद्ध बोल्ने कुनै नैतिक अधिकार छैन । यो निर्वाचनमा गठवन्धनको नाममा देशभर काँग्रेसका मतदाताले के काँग्रेसलाई नै मतदान गर्न पाउँदछ ? सत्ता स्वार्थको लागि उग्रवामपन्थीदेखि उग्र दक्षिणपन्थी दलहरुलाई मतदान गर्न लगाउने नेतृत्व तनहुँमा पार्टी निर्णय, आदर्श र नैतिकताको कुरा गर्न लाज लाग्दैन ? त्यहाँका कार्यकर्ताको मन कति रोएको छ होला ! सत्ता र आफ्नो स्वार्थको लागि पार्टीको नीति र सिद्धान्तलाई छोडेर आँपूm जे पनि गर्ने, अरुलाई अनुशासनको कुरा गर्ने कहाँसम्म नैतिकताको कुरा हो ?, अब काँग्रेसका सबै कार्यकर्ताहरू सचेत हुन जरुरी छ । एकातर्फ पुराना दलहरूले सुशासन दिन सकेनन् भने, निर्वाचनमा सत्ता स्वार्थबाट प्रेरित भएर, विचार नमिल्ने राजनीतिक दलहरू बीचको चुनावी तालमेलले निश्चयः नै प्रजातन्त्रलाई सुदृढ गर्दैैन । त्यसैले म आज यिनै प्रजातन्त्र विरोधी, जनविरोधी प्रवृतिको विरोधमा यो चुनावमा तनहुँ जिल्लाको प्रतिनिधिसभा, निर्वाचन क्षेत्र नं. १ बाट खडा भएको छु । देशभर आफ्नो स्वार्थ सिद्ध गर्नको लागि कार्यकर्ताहरुलाई विभिन्न चुनाव चिन्हमा मतदान गर्न लगाउने, तनहुँमा कार्यकर्ताको भावना विपरित जालझेल र कपट गरेर रुख चिन्ह लिएको छु भनेर कार्यकर्तामाथि दमन गर्न खोजियो भने त्यसको प्रतिरोध सबै मिलेर गर्नु पर्दछ । प्रतिरोध गर्नुहोस् म तपाईँहरुको साथमा रहने छु । म कार्यकर्ताहरुलाई आफ्नो स्वार्थमा प्रयोग गर्ने मानिस होइन । म कहिल्यै आफु माथि भरोसा गर्ने व्यक्तिलाई कहिल्यै धोका दिएको छैन र दिने पनि छैन । यो कुरामा विश्वास गर्न म सम्पूर्ण कार्यकर्ताहरूलाई अनुरोध पनि गर्न चाहन्छु । प्रजातन्त्रमा जनतानै सर्वेसर्वा हुने भएको हुनाले उनीहरूले जस्लाई चाहन्छन् त्यही नै जनताको आधिकारिक उमेद्वार हुन्छ । त्यसैले तनहुँमा म नै जनताको आधिकारिक उमेद्वार हूँ । म गोविन्दराज जोशीलाई एक पटक सम्झनुहोस्, तनहुँ जिल्लामा काँग्रेसको सङ्गठनको शुरू र निर्माण गर्ने मलाई टिकटको त कुरै छोडांै पार्टीको साधारण सदस्य पनि नदिने र जस्ले आफ्नो ६० वर्ष भन्दा बढी यही पार्टीमा बितायो, अहिले शक्ति र पैसाको बलमा म माथि अन्याय गरिएको छ । यही अन्यायको विरुद्धमा र निर्वाचनको समयमा पार्टीका कार्यकर्ताहरुलाई मानमर्दन गरी आर्थिक मोल–मोलाई गरी, सिद्धान्त र आदर्शलाई पैसामा बिक्री गरी, परिवारवाद, नातावाद र गुटगत आधारमा टिकट वितरण गरी नेपाली काँग्रेसका इमान्दार कार्यकर्ताहरुको मानमर्दन भएको विरुद्ध भएको मेरो उमेद्वारीलाई साथ दिई ‘कैची’ चिन्हमा मतदान गर्नु भई मलाई विजयी गराउन पनि हार्दिक अनुरोध गर्दछु ।
– जय नेपाल !
गोविन्दराज जोशी
प्रतिनिधि सभा (संघीय संसद) सदस्य पदको उमेद्वार
क्षेत्र नं १, तनहुँ
२७ कार्तिक २०७९